भारतीय वेब सिरिज 'दिल्ली क्राइम' लाई इन्टरनेसनल एमी अवार्ड

भारतीय वेब सिरिज 'दिल्ली क्राइम' ले प्रतिष्ठित पुरस्कार इन्टरनेसनल एमी अवार्ड जितेको छ । ४८ औं इन्टरनेसनल एमी अवार्डमा यस सिरिजले उत्कृष्ट ड्रामा सिरिज विधामा अवार्ड जितेको हो । यो सिरिज एमी जित्ने पहिलो भारतीय सिरिज बनेको छ ।

नेटफ्लिक्सको यस सिरिजमा शेफाली शाहको मुख्य भूमिका रहेको छ । उनि सिरिजमा एक प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् । सन् २०१२ को निर्भया बलात्कार केसबारे बनेको यस सिरिजमा रिची मेहताको निर्देशन रहेको छ । भारतीय सिरिज 'मेड इन हेभन' बाट अभिनेता अर्जुन माथुर 'उत्कृष्ट अभिनेता' को विधामा र वेब सिरिज 'फोर मोर शट्स प्लिज' 'उत्कृष्ट कमेडी सिरिज' विधामा मनोनित भएका थिए । 
 
भर्चुअल माध्यमबाट आयोजना भएको यस पटकको अवार्ड कार्यक्रममा 'दिल्ली क्राइम' ले उत्कृष्ट ड्रामा सिरिज, 'नोबडिज लुकिंग' ले उत्कृष्ट कमेडी सिरिज, ग्लेंडा ज्याक्सनले 'एलिजाबेथ इज मिसिंग' बाट उत्कृष्ट अभिनेत्री, बिल्ली बाराटले 'रिस्पोंसिबल चाइल्ड' बाट उत्कृष्ट अभिनेता, 'मार्टी इज डेड' ले उत्कृष्ट शर्ट फर्म सिरिज, 'फर समा' ले उत्कृष्ट डकुमेन्ट्री साथै 'रेस्पोंसिबल चाइल्ड' ले उत्कृष्ट टिभी मुभी/मिनी सिरिज अवार्ड पाएका छन् । 
 
सन् २०१९ मा 'सेक्रेड गेम्स' र 'लास्ट स्टोरिज' विभिन्न विधामा मनोनित भएका थिए तर अवार्ड भने पाउन सकेका थिएनन् ।